नियम
रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
(१) यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम, कर्तव्य र अधिकारहरुका अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः –
(क) इजलासको अधिकारक्षेत्रभित्र पर्ने कुनै मुद्दा र सो सँग सम्बन्धित लिखतहरु दर्ता गर्ने,
(ख) खण्ड (क) बमोजिम दर्ता भएका मुद्दासँग सम्बन्धित मिसिल वा लिखतहरु मगाउने र पेश गर्न लगाउने,
(ग) इजलासबाट भएको आदेश बमोजिम सूचना म्याद जारी गर्ने र तामेल भइआएको म्याद सूचना रीतपूर्वक भए नभएको जाँची वेरीतको देखिएमा बदर गरी पुन रीतपूर्वक तामेल गराउने,
(घ) इजलासबाट भएको निर्णय वा आदेश बमोजिमका कामहरु गर्ने,
(ङ) इजलासमा तोकिएका कर्मचारी र प्रशासकीय व्यवस्थाको रेखदेख र नियन्त्रण गर्ने ।
(२) उपनियम (१) बमोजिम अदालतमा दर्ता गर्न ल्याएको कुनै मुद्दाको लिखत कानून बमोजिम रीत नपुगेको वा कानून बमोजिम खुलाउनु पर्ने कारण वा आधारहरु नखुलाएको वा प्रष्ट नभएको देखिएमा रजिष्ट्रारले त्यस्तो लिखतलाई दरपीठ गर्न सक्नेछ ।
(३) मुद्दाको कारबाहीको सिलसिलामा रजिष्ट्रारले गरेको आदेश उपर पन्ध्र दिनभित्र उजुरी लाग्न सक्नेछ र त्यस्तो उजुरी इजलास समक्ष पेश गर्नुपर्छ ।